च्याङ्बा

/ Wednesday, July 28, 2010 /
साउन मासको त्यो एकनासे झरी रोक्दै नरोकी दर्किरहेको थियो हिजो नै देखी। रामपुर खोला पनि बढीले वारपार भएको देखिन्थ्यो। आपाले "लु यो झरी रोक्दैन जस्तो छ। साउनको झरी यस्तै हो। अब जानुपर्छ च्याङ्बा।" भन्नुभयो र वहाँको घुम अनी मेरो लागि एउटा च्यातिएको प्लाष्टिक खोजेर ल्याउनु भयो। जुन आमाले जाँड राख्दा रस नबगोस भनेर जाँडलाई बेर्नुलाई प्रयोग गर्नुहुन्थ्यो। अनी धोक्रो काटेर आँफैले सिलाएको झोलामा मेरो किताबहरु राखिदिनुभयो। हामीसँग घरमा  मकै सकिसकेको थियो। साउनको अन्तिम भए पनि हाम्रो लेकमा मकै पाक्नु अझै एक महिना जती कुर्नुपर्छ। त्यसैले आपाले बेँसिमै रासनको व्यवस्था गर्नुभाकोछ रे। अस्तिमत्र आलु लिएर जानु भाको थियो त्योसँग साटेको मकै छ रे त्यतै अनी आजु पनि लिएर जाने। मो घरको च्याङ्बा(कान्छा) छोरा। दाई दिदिहरुलाई पढाउनु नसकेपनी मोलाई भने आपा आमाले रिन काटेरै भए पनि पढानु भाको।
 आपा भन्नुहुन्छ यो समाजले हामी दुखी गरीबलाई जहिले तल थिचेर राख्यो। हाम्रो दिन कहिले आएन। त्यसैले तोइले पढेर यो समाजको लागि केही गर्नुपर्छ। यो समान्तीहरुलाई तह  लाउनुपर्छ। हाम्रो बेंशिको खेत अनी लेकको खर्क फिर्ता लिनु पर्छ। मो त अबोध बालक के नै बुझ्थेँ र। पहिला पहिला त केही बुझिन्नथ्यो अब चै अलिअली बुझ्छु। हाम्रो बारीको नाउँमा जम्मा दुई हल त्यो महाभारत लेकको ठाउँ। भने जस्तो अन्नबाली हुन्न चिसो र हुरिबतासले  जहिले सखाप पार्छ। आपा आमा जहिले अरुको काम गर्नु जानुहुन्छ। आलुको मौसममा आलु लिएर बेँशी जानुहुन्छ अनी कोदो मकै लिएर फर्किनु हुन्छ। पहिले त्यो तल बेँशिको टारमा हाम्रो पनि खेत थियो रे। त्यो चै हजुर बाले लिएको  रिनको ब्याज तिर्दा तिर्दा मुरली बाहुनले आफ्नो बनाको रे। अनी माथि लेकमा पनि ठुलो खर्क थियो रे त्यसमा गाई र बाख्राहरु टन्नै पाल्थ्यो रे त्यो चै आपाले आमालाई भगाएर बिहा गर्दा भएको रिनको साटो तिलक बाजेले खाको रे। अनी अहिले हाम्रो नाउँमा त्यो स्यानो झुप्रो, दुइटा भाईँसी र दुइटा बाख्रा बहेक केही छैन।
 आपा जहिले रेडियोमा समाचार  सुन्नुहुन्थ्यो, नेताहरुको कुरा गर्नुहुन्थ्यो। त्यो पार्टी उ पार्टी भन्नुहुन्थ्यो। अनी बेला बेलामा घरमा नचिनेको मान्छेहरु पनि आउँथ्यो। आपा उनिहरुलाई ज्यालाबाट ल्याको मकै कोदोको ढिडो पकाएर ख्वाउनुहुन्थ्यो। बेला बेलामा आमा कराउनु हुन्थ्यो कोही नभाको बेलामा। उहिले नै सानो छँदा पण्डितको घरमा बाख्रा गोठालो बस्दा सिकेको रे मेरो आपा गाउँमा लेखन्दासको काम पनि गर्नु हुन्थ्यो। किताबहरु प्रशस्तै पढ्नुहुन्थ्यो। घरमा आउने आपाका साथीहरु सबै कमरेड भन्थे बोल्दा। मेरो आपा पनि तेस्तइ भन्नुहुन्थ्यो। रात भरी भरी गफ गर्थे उनिहरु। हामीलाई चै कहिले काही रिस पनि उठ्थ्यो। तेत्रो दु:ख गरी ल्याको मकै तिनिहरुलाई ख्वाएको देख्दा। कहिलेकाही चकलेट दिन्थे हामीलाई फेरी खुशी लाग्थ्यो। कोही आए चकलेट ल्यायो कि भन्ने आशा लाग्थ्यो। आपाले अरु छोरा छोरीलाई पढाउनु सकेन च्याङ्बालाई चै जसरी पनि पढाउनुपर्छ भन्नु भएर मोलाई यसपाली पढाउनको लागि लाने बन्दोबस्त गरेको हो। मो अब पाँच कक्षा पास भएर छ कक्षा पढ्नुपर्ने तल रामपुर बजारमात्र छ कक्षा देखी पढाउने भएकोले त्यतै जानु लागेको।
 अब त्यतै एकजना साईनोले ठुलो बुवा पर्नेको घरमा राख्ने रे मोलाई। आपाले धोक्रोमा आलु बोक्नु भयो। मो चै किताबहरु त्यही धोक्रो काटेर बनाको झोलामा बोकेर प्लाष्टिक ओढेर हिंडे आपा चै घुम ओढेर। पानी जोड्ले दर्कीरहेको थियो। हामी डाडाबाट गयौँ। खोला बाट जानु सकिन्न। मो अबोध बालक घर छोडेर जानु पर्दा एकदमै नरमाइलो लागिरहेको थियो। मो आशु पुछ्दै हिंडे। मोइले पहिलो पल्ट चप्पल लाउदै थिए। स्कुल जानको लागि आपाले हात्तीछप  ल्याइदिनु भाको कस्तो अफ्ट्यारो पो हुदो राइछ। पहिला मो बस्नुपर्ने ठाउँ गयौँ। बिहान् बेलुका घाँस पनि काट्नुपर्छ रे मोइले त्यहाँ अनी तरकारी बाहेक भात चाँही उनिहरुले नै दिने रे। त्यसपछी मेरो स्कुल तिर लागियो। मो त्यो बिरानो ठाउँमा निकै नै निराश र आतिएको थिए। आपाले भर्ना गरेर घर फर्किनु भयो।
 मो कक्षा कोठामा गएर कुनामा बसेर एक्लै झोक्रिएर बसेको थिएँ। सबैजना सुकिलो र नयाँ कपडा लगाएको थियो मेरो त्यस्तो थिएन। सबैजना मोलाई हेर्दाइ हाँस्दै थियो। मोलाई तेती सारो नेपाली पनि आउँदैन थियो। एकजना सर कक्षामा आउनुभयो। सबैजना जुरुक्क उठेर गुड मर्निङ सर भने। मोलाई त थाहा थिएन उठ्न ढिला भयो। सबैजना उठेर मात्रा उठें। सर सरासर मेरो छेउमा आउनुभयो। पहिला गालामा एक झापाड लगाउनुभयो। तेसपछी। अनुशासन नभएको केटो। खोइ तिम्रो ड्रेस भन्नुभयो। मोइले छैन भनेँ। ड्रेस विना यहाँ पढन पाइँदैन  । अनुशासन नभएको केटो भन्दै मोलाई कक्षाबाट तान्दै बहिर निकालियो।  मोसँग त्यही थियो त मोइले गर्ने के। मेरो आपाको तेत्रो सपना भताभुङग भए झैँ लाग्यो। मो अबोध  बालकको के दोष? दोष थियो त मेरो गरीबीको,  अनी सम्झेँ आपाको कमरेड  साथीहरुले भनेको यहाँको हुनेखाने सामन्ती वर्गसङ्गको लडाईं हो यो। खै मेरो त्यो बालक मनमा पनि एक किसिमको आक्रोश पैदा भए झैँ  लाग्यो। अनी एक्लै झोक्रिएर ढोका छेउ बसिरहेँ......

My photo
Nepal
Hi everyone. I call myself a Traveller boy. Born on the lap of mountains. Doing down to up and up to down the mountain for survival is all about how we live. colours of life and culture waving in Buddhist prayer flags and spinning prayer wheel symbolises endless journey of life. And at the same time its all about being happy, keep peace and harmony. Tashi Delek!
 
Copyright © 2008-2012 Wheel of Life, All rights reserved